०२ चैत,काठमाडौं - बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बराहताल गाउँपालिका—१ का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका—८ का ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्।
सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, आइतबार बेलुका ५ बजे आसे महतराले प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए। उनका अनुसार, उनीहरु फागुन २३ गते गाउँबाट करिब १७ किलोमिटर दक्षिणस्थित बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका थिए र अहिलेसम्म फर्किएका छैनन्।
महतराले सुनिल समसेलीको आमाले आफ्नो दाइको मृत्यु भएको बताएको जानकारी दिएको भए पनि प्रहरी यसबारे पुष्टि गर्न सकेको छैन।
प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको नेतृत्वमा चार जनाको टोली खोजी कार्यमा खटिएको छ। यसबारे बर्दिया जिल्ला प्रहरी कार्यालयलाई समेत जानकारी दिइएको छ।