काठमाडौँ - सामाजिक अभियन्ता आशिका तामाङ औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधिसभा निर्वाचनमा होमिएकी छन् । रास्वपाले उनलाई धादिङ–१ बाट उम्मेदवार बनाएको हो ।
यसअघि आशिकाले काठमाडौं–२ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेकी थिइन् । तर पछि उक्त निर्णय परिमार्जन गर्दै उनी आफ्नै जन्मथलो धादिङबाट रास्वपाको उम्मेदवार बनेकी हुन् ।
रास्वपामा आवद्ध हुनुअघि उनले ‘जेनजी आन्दोलनमा घाइते भएकाहरूको न्याय’लाई मुख्य एजेन्डाका रूपमा अघि सारेकी थिइन् । उनको प्रस्तावअनुसार तीन जना जेनजी घाइतेलाई रास्वपाको बन्दसूचीमा समेटिएको छ भने उनीहरूलाई पार्टीको केन्द्रीय संरचनामा समेत सहभागी गराउने सहमति भएको बताइएको छ ।
सरसफाइ, सामाजिक न्याय र स्थानीय अभियानमा सक्रिय आशिका लामो समयदेखि धादिङमा विभिन्न सामाजिक काम गर्दै आएकी छन् । जर्मनीमा रहेको सुरक्षित बसाइ त्यागेर उनी चुनावी राजनीतिमा होमिन नेपाल फर्किएकी हुन् ।
सडकदेखि संसदसम्म आवाज उठाउने लक्ष्यसहित मैदानमा उत्रिएकी आशिकाको उम्मेदवारीलाई धादिङमा सामाजिक अभियानबाट राजनीतितर्फको यात्राको रूपमा हेरिएको छ ।