नेकपाको २४९९ सदस्यीय केन्द्रीय कमिटी शपथ मंगलबार, पेरिसडाँडामा राजनीतिक पावर–टेस्ट

साझा लाल्टिन संवाददाता

२८ पुस, काठमाडौं -  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २४९९ सदस्यीय विशाल केन्द्रीय कमिटीलाई मंगलबार औपचारिक रूपमा शपथ गराउने भएको छ। यो कार्यक्रम भौतिक र भर्चुअल दुवै माध्यमबाट एकैसाथ सञ्चालन हुँदैछ, जसलाई पार्टी एकतापछिको सबैभन्दा ठूलो संगठनात्मक प्रदर्शनका रूपमा हेरिएको छ।

पार्टी नेता गंगालाल तुलाधरद्वारा जारी सूचनाअनुसार काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्यहरू मंगलबार (पुस २९) दिउँसो १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर प्रत्यक्ष शपथ लिनेछन् भने उपत्यका बाहिरका सदस्यहरूले आ–आफ्नो प्रदेश, जिल्ला वा पालिका कार्यालयमार्फत भर्चुअल रूपमा शपथ लिने व्यवस्था गरिएको छ।

शपथपछि प्रत्येक केन्द्रीय सदस्यलाई केन्द्रीय कार्यालयबाट परिचयपत्र वितरण गरिनेछ। त्यसका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ।

यसैबीच २४९९ सदस्यीय अन्तिम नामावली टुङ्ग्याउन पेरिसडाँडामा अहिले ६ सदस्यीय कार्यदल निरन्तर बैठकमा छ। कार्यदलमा पूर्वमाओवादीतर्फबाट देव गुरुङ, वर्षमान पुन र गिरिराजमणि पोखरेल छन् भने तत्कालीन एकीकृत समाजवादी (नेकपा एस) बाट प्रमेश हमाल, बेदुराम भुसाल र प्रकाश ज्वाला सहभागी छन्।

पार्टी स्रोतका अनुसार यही २४९९ को फ्रेमभित्रबाट पदाधिकारी, सचिवालय, केन्द्रीय कार्यालय, आयोग, विभाग तथा अन्य सबै संरचना गठन गरिने तयारी भइरहेको छ। अर्थात्, शपथसँगै पार्टीभित्र शक्ति–सन्तुलनको वास्तविक लडाइँ पनि सुरु हुने भएको छ।

एकतामा सामेल भएका वाम घटकहरू, विशेषगरी तत्कालीन नेकपा एसका नेताहरूले भने आ–आफ्नो पक्षबाट अलग–अलग नामसूची पेश गरेर दबाब बढाइरहेका छन्। सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल र वामदेव गौतमले आ–आफ्ना समूहका नामहरू छुट्टाछुट्टै बुझाएको र ती समूहहरूले पदाधिकारीदेखि सचिवालयसम्मको भाग खोजिरहेको स्रोतले जनाएको छ।

कार्यदलभित्र पनि यही शक्ति–संघर्षको प्रतिविम्ब देखिएको छ। हमाल र भुसाल माधव नेपाल पक्षका प्रतिनिधि मानिन्छन् भने प्रकाश ज्वालाले झलनाथ खनाल समूहको तर्फबाट दाबी अघि सारिरहेका छन्।

यसरी मंगलबारको शपथ कार्यक्रम केवल औपचारिक प्रक्रिया मात्रै होइन, नयाँ नेकपाभित्र कसको प्रभाव कति रहनेछ भन्ने निर्णायक ‘पावर टेस्ट’ बन्ने संकेत स्पष्ट देखिएको छ।

प्रतिक्रिया