काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवा केवल जागिर नभई विशिष्ट जीवनशैली भएको बताएका छन्। आइतबार महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले राज्यले दिएको अधिकारलाई जिम्मेवारीका रूपमा ग्रहण गर्न आग्रह गरे।
आईजीपी कार्कीले सुरक्षामा गरिने लगानीलाई अनुत्पादक ठान्ने पुरानो सोचमा परिवर्तन आएको उल्लेख गर्दै युग सुहाउँदो लगानी आवश्यक रहेको बताए। १८ महिना लामो तालिम पूरा गरी प्रहरीको १८३ औँ समूहका ९२ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्, जसमा ९ महिला र ८३ पुरुष छन्।
प्रहरी खरानीबाट उठेर पुनः नागरिक सेवामा समर्पित भएको उल्लेख गर्दै कार्कीले प्रहरीको दायित्व थप बढेको बताए।
02 February 2026