जनतालाई रुवाएर गरिने काम विकास होइन बिनाश हो : विराजभक्त श्रेष्ठ

साझा लाल्टिन संवाददाता

२१ मंसिर, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको नाममा जनताको घर भत्काउनु विनाश भएको टिप्पणी गरेका छन् । शनिबार बिहान हेटौँडामा सडक विस्तारका क्रममा स्थानीयका घर टहरा भत्काइएपछि आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता श्रेष्ठले जनतालाई रुवाएर गरिने काम विकास नभई ‘विकासको नाममा विनाश’ भएको टिप्पणी गरेका हुन् ।

श्रेष्ठले आफू बागमती प्रदेशसभा सदस्य हुँदादेखि नै हेटौँडाको सडक विस्तारको विषयलाई प्रदेशसभा र विभिन्न फोरमहरूमा उठाउँदै आएको बताए । उनले विकासको विरोधी आफूहरू नभएको तर विकासका नाममा नागरिकलाई विस्थापित गर्न नहुने बताए ।

सडकको मापदण्ड कायम हुनुपर्ने भए पनि त्यसको विधि, प्रक्रिया र स्थानीय पीडित नागरिकको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ । संविधानले नागरिकलाई हक अधिकार सम्पन्न बनाए पनि त्यसबाट वञ्चित गराउने कामको जवाफदेहिता कसले लिने भन्दै उनले प्रश्न गरे । सडक विस्तार रोक्न शुक्रबार मात्रै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको भए पनि त्यसको बेवास्ता गर्दै घर भत्काइएको श्रेष्ठले भनाइ छ ।

‘हाम्रो कुरा स्पष्ट थियो, यो विस्तारले असर गर्ने सरोकारवालाहरू र पीडितहरूसँग उचित संवाद जरुरी छ । हामीले सम्बन्धित निकायलाई सुझाव स्वरूप भनेका पनि थियौँ । संवाद गरेर मात्रै अगाडि बढ्नुस् । तर, त्यसो भएको महसुस भएन’ उनले लेखेका छन्, ‘शुक्रबार मात्र पनि सर्वोच्च अदालतले सडक विस्तार रोक्नू भनेर आदेश दिएको छ । तर आदेश छेउमा पर्यो । एकाबिहानै हेटौँडाको मुख्य सडकमा घर भत्काइएका दृश्यले कानुन कमजोर भयो कि जनतालाई हेप्ने बानी बलियो भयो भन्ने प्रश्न फेरि उठ्यो । हिजो काठमाडौँमा सडक विस्तारको नाममा घर भत्काइए । आज हेटौँडामा पनि रगत पसिनाले जोडिएका इतिहास बोकेका घरहरू ढले । व्यवस्था बदलिए, सरकार फेरिए तर फरक केही छैन । दुःख पनि त्यही, पीडा पनि त्यही अनि व्यथा पनि त्यही । अन्तिममा जहिले पनि चोट भोग्नुपर्ने नेपाली जनताले नै हो ।’

प्रतिक्रिया