२ फागुन,काठमाडौं - फागुन कृष्ण चतुर्दशी नजिकिँदै जाँदा पशुपतिनाथ मन्दिर परिसर महाशिवरात्रीको तयारीले चहलपहलपूर्ण बनेको छ। आइतबार मनाइने यस पर्वलाई व्यवस्थित र श्रद्धालु–मैत्री बनाउन पशुपति क्षेत्र विकास कोषले सुरक्षा, दर्शन व्यवस्था, सरसफाइ र स्वयंसेवक परिचालनलगायतका कामलाई तीव्रता दिएको जनाएको छ।
कोषका अनुसार यस वर्ष पनि हजारौँ भक्तजनलाई सहज रूपमा दर्शन गराउने लक्ष्य राखिएको छ। दर्शन लाइन व्यवस्थापन, स्वास्थ्य शिविर, पिउने पानी र आपत्कालीन सेवामा विशेष ध्यान दिइएको बताइएको छ।
महाशिवरात्रीको अवसरमा देशका विभिन्न जिल्लाका साथै भारतबाट पनि साधुसन्तहरू काठमाडौँ आइपुगेका छन्। पर्वका दिनहरूमा पशुपति क्षेत्रमा साधुसन्तहरूको उपस्थिति विशेष आकर्षण मानिन्छ। परम्पराअनुसार शिवरात्री सम्पन्न भएपछि उनीहरूलाई दान–दक्षिणासहित बिदाइ गरिन्छ।
यस अवसरमा स्वदेश तथा छिमेकी मुलुकबाट लाखौँ श्रद्धालु पशुपतिनाथको दर्शनका लागि आउने अपेक्षा गरिएको छ। शिवरात्रीकै दिन पशुपति क्षेत्रमा विशेष मेला लाग्ने र धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुने गर्छन्।
धार्मिक मान्यताअनुसार फागुन कृष्ण चतुर्दशीका दिन भगवान् शिवको आराधना, बेलपत्र अर्पण, उपवास तथा रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने विश्वास छ। त्यसैले शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड लाग्ने परम्परा रहँदै आएको छ।