देश खरानी बनाउने पार्टी भन्दै रास्वपा परित्याग , लगतै एमाले प्रवेश
साझा लाल्टिन संवाददाता
22 February 2026
१० फागुन,काठमाडौं - सूर्यबहादुर गैरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। प्युठान नगरका सदस्यसमेत रहेका गैरेलाई एमालेले औपचारिक रूपमा स्वागत गरेको जनाएको छ।
एमाले प्युठानका जिल्ला अध्यक्ष विजयविराज विष्टका अनुसार गैरेलाई पार्टीको कार्यक्रममा स्वागत गरिएको हो। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाको पनि उपस्थिति रहेको थियो।
गैरेले रास्वपा सभापति रवि लामिछाने प्युठान पुगेको भोलिपल्ट पार्टी त्याग गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
पार्टी परित्यागको कारणबारे बोल्दै गैरेले नेपाल र नेपालीको आत्मगौरवसँग जोडिएका ऐतिहासिक सम्पदामाथि भएको घटनाप्रति असन्तुष्टि व्यक्त गरे। “देश बनाउने होइन, देशलाई खरानी बनाउने प्रवृत्तिसँग सहमत हुन सकिनँ,” उनले भने।