जेन–जी आन्दोलनको डर, राष्ट्रियसभाबाटै सत्ता जोगाउने कांग्रेस–एमालेको चाल

साझा लाल्टिन संवाददाता

 १७ पुस, काठमाडौं - आसन्न राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख दलहरूबीच गठबन्धनको गृहकार्य तीव्र बनेको छ। एक्लै चुनावमा जाँदा अपेक्षित नतिजा नआउने आँकलनपछि नेपाली कांग्रेस र नेकपा एमालेले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग समेत संवाद अघि बढाएका छन्।

राष्ट्रियसभाको निर्वाचनमा सहकार्य अपरिहार्य देखिएपछि नेकपाले पनि कुनै न कुनै दलसँग मिलेर जानुपर्ने निष्कर्ष निकालेको छ। यही सन्दर्भमा कांग्रेस र एमाले दुवै पक्षसँग अनौपचारिक छलफल भइरहेको नेकपाका नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार हालसम्म औपचारिक वार्ता टोली वा समिति गठन भएको छैन। “विभिन्न माध्यमबाट संवाद भइरहेको छ, यो स्वाभाविक प्रक्रिया हो,” उनले भने, “निर्वाचन नजिकिँदै भएकाले एक–दुई दिनमै स्पष्ट दिशा तय हुन सक्छ।”

खतिवडाका अनुसार विगतको सहकार्य र राजनीतिक सामीप्यका कारण एमालेभन्दा कांग्रेससँग गठबन्धनको सम्भावना बढी देखिएको छ। “राजनीतिमा स्थायी शत्रु हुँदैन,” उनले भने, “तर व्यवहारिक हिसाबले अहिले कांग्रेससँग कुरा मिल्ने सम्भावना बलियो छ।”

यसबीच, माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमालेबीच नै सहकार्य हुने सम्भावनाबारे पनि राजनीतिक वृत्तमा तीव्र चर्चा छ। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रियसभा मात्रै नभई आगामी निर्वाचनसम्मको दीर्घकालीन तालमेलबारे पनि सकारात्मक देखिएका बताइन्छ।

तर कांग्रेसभित्रकै एक समूह भने एमालेसँग भन्दा नेकपासँग गठबन्धन गर्दा राजनीतिक रूपमा बढी लाभ हुने तर्क गर्दै आएको छ। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एमालेबाहेक अन्य दलहरूसँग पनि छलफल जारी रहेको तर अन्तिम निष्कर्षमा नपुगेको बताए।

उता, एमालेले पनि कांग्रेस मात्र नभई नेकपासँग समेत संवाद भइरहेको स्वीकार गरेको छ। पार्टीका एक नेताका अनुसार सबै विकल्प खुला राखेर छलफल भइरहेको छ।

फागुन २० देखि रिक्त हुन लागेका १९ मध्ये १८ राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन हुँदैछ। यही कारण दलहरूबीचको गठबन्धन राजनीतिले थप गति लिएको छ।

प्रतिक्रिया