२८ मंसिर, काठमाडौं - भृकुटीमण्डपमा जारी नेकपा एमालेको केन्द्रीय समिति बैठकमा महाधिवेशनको बन्दसत्रलाई लक्षित गर्दै नेतृत्व संरचना फेरबदलको बहस चर्किँदै गएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या विस्तार गर्ने रणनीति अघि सारेको संकेत देखिएको छ, यद्यपि उनले यो प्रस्ताव औपचारिक रूपमा आफैं अघि सारेका छैनन्।
बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष ओलीले प्रत्यक्ष प्रस्ताव ल्याउँदा असहमति बढ्न सक्ने आँकलन गर्दै आफू निकट केन्द्रीय सदस्यहरूलाई विधान संशोधनको पक्षमा धारणा राख्न लगाएका छन्। आइतबारको बैठकमा ओली पक्षका नेताहरूले वर्तमान विधान कार्यान्वयन गर्ने कि संशोधन गरेर अघि बढ्ने भन्ने विषयमा धारणा राख्दै आएका छन्।
यस क्रममा केन्द्रीय सदस्य खिमलाल देवकोटा, शेरबहादुर तामाङलगायतले पदाधिकारी संरचना विस्तार गर्दै ९ जना सचिव र ५ जना उपाध्यक्ष रहने व्यवस्था प्रस्ताव गरेका छन्। उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा औपचारिक छलफलको विषय बनेको छ।
अध्यक्ष ओलीले बैठकस्थल प्रवेश गर्ने क्रममा समेत पदाधिकारी थप हुने संकेत दिएको बताइन्छ। केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम जारी रहेकाले आजको बैठकले विधान संशोधन र नेतृत्व संरचनासम्बन्धी महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
तर पार्टीभित्र सबै पक्ष यसमा सहमत देखिएका छैनन्। एमालेकै ईश्वर पोखरेल पक्षले विधान संशोधनको प्रस्तावप्रति आपत्ति जनाउँदै आएको छ।