राष्ट्रिय स्वतन्त्र पार्टी मधेशमा झट्का: ममता शर्माको राजीनामासँगै आन्तरिक विवाद सतहमा

साझा लाल्टिन संवाददाता

 फागुन,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी मधेश प्रदेश सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन्। उनले पार्टीभित्र आर्थिक पारदर्शितामा प्रश्न उठाउँदै साधारण सदस्यसमेतबाट राजीनामा दिएको घोषणा गरेकी हुन्।

शर्माले जारी गरेको विज्ञप्तिमा पार्टीका निर्णयहरू आर्थिक स्वार्थबाट प्रभावित भएको दाबी गरिएको छ। इमान्दार र नीतिगत राजनीतिलाई प्राथमिकता नदिइएको आरोप लगाउँदै उनले आफूले लामो समयदेखि उठाउँदै आएका विषयमा नेतृत्व गम्भीर नबनेको उल्लेख गरेकी छन्।

रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह मधेश प्रदेशमा संगठन विस्तार र चुनावी प्रभाव बढाउने अभियानमा सक्रिय रहेका बेला शर्माको बहिर्गमनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यसले मधेशमा पार्टीको रणनीतिमा असर पार्न सक्ने आकलन गरिएको छ।

यता, बालेन्द्र साहसँग सम्बन्धित विगतका केही विवादित अभिव्यक्तिहरू र निर्णयहरू पनि पुनः चर्चामा आएका छन्। उनले झापा पुगेर राजधानीमा मेयर हुँदा विदेशी प्रभावका कारण फोहोर व्यवस्थापनमा समस्या आएको बताएका थिए, जसलाई विपक्षीहरूले आधारहीन टिप्पणीका रूपमा आलोचना गरेका छन्। त्यस्तै, मेयर कार्यकालमा कवाड व्यवसायी र मजदुरमाथि दुर्व्यवहार गरेको तथा डोजर प्रयोग गरी संरचना हटाउँदा उठिबास लगाएको आरोपसमेत मधेश क्षेत्रमा बहसको विषय बनेको छ।

शर्माको राजीनामापछि रास्वपाभित्र आन्तरिक छलफल तीव्र हुने संकेत देखिएको छ भने मधेश प्रदेशको राजनीतिक समीकरणमा पनि यसले नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।

प्रतिक्रिया