२५ पुस, काठमाडौं - मन्त्री पदबाट राजीनामा दिएलगत्तै कुलमान घिसिङ खुला राजनीतिक खेलमा होमिएका छन् । औपचारिक पार्टी एकता घोषणा नटुंगिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग गोप्य भेटवार्ता गरेका छन् ।
स्रोतका अनुसार कुलमान आफैं रविको निवास पुगेर ‘वान–टु–वान’ वार्ता गरेका हुन् । भेटमा पार्टी समायोजनलाई केन्द्रमा राखेर पद, हिस्सेदारी र निर्वाचनको प्याकेज सम्झौताबारे कडा मोलतोल भएको बताइएको छ । कुलमानले एकता “सम्मानजनक” हुनुपर्ने अडान राख्दै केन्द्रीय समितिमा हिस्सेदारी, समानुपातिक सूची संशोधनदेखि प्रत्यक्ष निर्वाचनको उम्मेदवारीसम्मलाई एउटै प्याकेजमा सहमति खोजेका छन् ।
यद्यपि रास्वपा–उज्यालो नेपालबीच सहमतिपत्रमा हस्ताक्षर भइसके पनि भित्री विवाद चर्किंदै गएको छ । रास्वपाले बालेन शाहको कोटाबाट केन्द्रीय सदस्य संख्या २६ पुर्याउँदा उज्यालो नेपालतर्फ कुनै समायोजन हुन नसकेको स्रोत बताउँछ । उज्यालोलाई कति केन्द्रीय सदस्य दिने भन्ने विषयमै सहमति अड्किएको छ ।
त्यसैगरी उज्यालो नेपालले समानुपातिक बन्द सूचीमा आफ्ना व्यक्तिहरूलाई प्राथमिकताक्रममा माथि सार्नुपर्ने अडान कसेको छ, जसले एकता प्रक्रिया झनै पेचिलो बनेको छ ।
सहमति पत्रमा कुलमान घिसिङलाई उपसभापति बनाउने उल्लेख भए पनि उनी अहिलेसम्म रास्वपाको कुनै बैठकमा सहभागी भएका छैनन् । पार्टी समायोजन टुंगिएपछि मात्र बैठकमा जाने उनको अडान छ ।
राजीनामापछि कुलमानले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । हिजो आफ्नै निवासमा बसेर उनले पार्टीका नेताहरूसँग आन्तरिक छलफल चलाएका थिए । सत्ता र शक्तिको केन्द्रतर्फ कुलमानको यो हतारो राजनीतिक पुनरागमनको संकेत हो कि पद–प्याकेजको दबाब रणनीति प्रश्न उस्तै छ ।