२६ फागुन,काठमाडौं - नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन परिणामपछि पार्टीले गम्भीर आत्मसमीक्षा गर्दै नयाँ नीति, योजना र रणनीतिका साथ अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका नेता श्रेष्ठले वर्तमान राजनीतिक परिस्थितिको वस्तुनिष्ठ विश्लेषण गर्दै पार्टीभित्र पुनर्गठन आवश्यक रहेको उल्लेख गरे। उनले एकता, ध्रुवीकरण, सहकार्य र संयुक्त मोर्चालाई प्राथमिकतामा राखेर समग्र संगठनात्मक रूपान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनका अनुसार पार्टीले देश र जनताको पक्षमा संघर्षको स्पष्ट नीति तथा योजना तयार पार्दै क्रान्तिनिष्ठा, धैर्य, विवेक र साहसका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ। उनले भने, “समग्र परिस्थितिको विश्लेषण–संश्लेषण गर्दै निर्मम आत्मसमीक्षा सहित नयाँ नीति र कार्यक्रम बनाउनु अहिलेको मुख्य आवश्यकता हो।”
श्रेष्ठले पार्टीको कार्यदिशा शान्तिपूर्ण राजनीतिक परिवर्तनमा आधारित भएकाले निर्वाचन र सरकारमार्फतको भूमिकालाई महत्त्वपूर्ण मानिए पनि त्यसलाई मात्रै सम्पूर्ण संघर्ष नमानिने बताए। उनका अनुसार सरकार, संसद् र सडक संघर्षमध्ये कुन मोर्चा प्राथमिक हुन्छ भन्ने कुरा समय र परिस्थितिले निर्धारण गर्छ।
हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पुष्पकमल दाहाल सहित सबै निर्वाचित नेताहरुलाई बधाई दिँदै श्रेष्ठले पार्टीले आगामी दिनमा पाँच मुख्य कार्यभारमा केन्द्रित हुनुपर्ने बताएका छन्।
उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा, संविधानसहित ऐतिहासिक राजनीतिक उपलब्धिको संरक्षण, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सामाजिक–आर्थिक रूपान्तरणमार्फत जनजीवन सुधार गर्ने तथा दीर्घकालीन रूपमा समाजवाद निर्माण गर्ने लक्ष्यलाई प्राथमिकता दिनुपर्ने बताए।
श्रेष्ठका अनुसार यी कार्यभार पूरा गर्दै पार्टीले समाजवादी परिवर्तनको दीर्घकालीन रणनीतिक लक्ष्यतर्फ अघि बढ्नुपर्नेछ।