८ पुस, काठमाडौं - हेटौँडामा सडक विस्तारका नाममा निजी सम्पत्तिमाथि डोजर चलाइएको विरोधमा पीडितहरू राजधानीको माइतीघर मण्डलामा भेला भएका छन् । न्याय नपाएको गुनासोसहित उनीहरूले धिमे बाजा बजाउँदै र प्लेकार्ड प्रदर्शन गर्दै सरकारविरुद्ध दबाब सिर्जना गरेका हुन् ।
पीडितहरूको आरोप छ– सरकारले कानुनी प्रक्रिया नअपनाई घर भत्काएको मात्र होइन, उचित क्षतिपूर्ति नदिई उनीहरूलाई सुकुमबासी बन्न बाध्य बनाएको छ । सडक विस्तारको निर्णयले आफूहरूको जीवनयापन नै संकटमा परेको भन्दै उनीहरूले गैरन्यायिक हस्तक्षेप तत्काल रोक्न माग गरेका छन् ।
हेटौँडा बसोबास संरक्षण समितिका सदस्य भुवन श्रेष्ठका अनुसार, पटक–पटक माग राख्दा पनि सरकारले बेवास्ता गरेपछि हेटौँडाबाट काठमाडौंसम्म आएर विरोध गर्नुपरेको हो । “हाम्रो आवाज सुन्न कोही तयार भएन, त्यसैले माइतीघर नै रोज्यौँ,” उनले भने ।
माइतीघरमा जम्मा भएका पीडितहरूले सांकेतिक रूपमा बाजागाजा बजाएर शान्तिपूर्ण तर सशक्त विरोध जनाउँदै न्याय र उचित क्षतिपूर्तिको माग दोहोर्याएका छन् ।