प्रतिनिधिसभा हारपछि एमालेभित्र नेतृत्व–नीति परिवर्तनको दबाब बढ्यो

साझा लाल्टिन संवाददाता

२५ फागुन,काठमाडौं - प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएपछि नेकपा (एमाले)भित्र आत्मसमीक्षाको बहस सुरु भएको छ । पार्टीका शीर्ष नेताहरूले नै नेतृत्व, नीति र कार्यशैलीबारे पुनर्विचार गर्नुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन् ।

उपमहासचिव योगेश भट्टराईले भदौ २३ र २४ पछि पार्टीले अवलम्बन गरेको राजनीतिक लाइन उपयुक्त नभएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका छन् । उनले नेतृत्व र नीतिप्रति जनताले असन्तुष्टि व्यक्त गरेको स्पष्ट देखिएको भन्दै वास्तविकतालाई स्वीकार गरेर जनसमर्थन पुनः आर्जन गर्ने दिशामा पार्टी अघि बढ्नुपर्ने बताए ।

भट्टराईका अनुसार उक्त विषयमा पार्टीभित्र पटक–पटक छलफल र बहसको प्रयास गरिएको भए पनि अपेक्षित परिणाम आउन सकेन । अब भने खुलेरै बहस गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन् । साथै उनले निर्वाचन परिणामका लागि नेतृत्वमात्र होइन, विभिन्न तहका कमिटी र जिम्मेवार नेताहरू पनि समान रूपमा उत्तरदायी हुनुपर्ने बताएका छन्।

त्यस्तै, उपाध्यक्ष विष्णु पौडेलले पनि निर्वाचन परिणामपछि पार्टीभित्र आवश्यक निर्णय हुने संकेत गरेका छन् । रुपन्देही–२ मा पराजित भएपछि उनले मतदाताको निर्णयलाई सम्मान गर्दै पार्टीले नेतृत्व, नीति र कार्यसम्पादन शैलीबारे छिट्टै पुनरावलोकन गर्ने बताएका छन् ।

अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले समेत जनताले दिएको सन्देशलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । लमजुङमा पराजित भएपछि उनले पार्टीले आफ्नो कार्यशैली सच्याएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेताहरूका यी प्रतिक्रियाले निर्वाचन परिणामपछि एमालेभित्र नेतृत्व र नीतिगत परिवर्तनबारे व्यापक बहस सुरु हुने संकेत देखिएको छ ।

प्रतिक्रिया