०५ चैत,काठमाडौं - हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अपेक्षाभन्दा निकै कमजोर नतिजा आएपछि नेपाली कम्युनिस्ट पार्टी आन्तरिक समीक्षा र पुनर्गठनको तयारीमा जुटेको छ। पार्टीले छिट्टै सचिवालय बैठक बोलाएर हारका कारणहरू केलाउने तयारी गरेको जनाएको छ।
२०७९ को निर्वाचनमा एक्लै ३२ सिट जितेको नेकपा माओवादी केन्द्र यसपटक भने नेकपा एकीकृत समाजवादी लगायत २५ वामपन्थी घटकसँग एकता गर्दै चुनावमा होमिएको थियो। तर फागुन २१ मा सम्पन्न निर्वाचनमा अपेक्षाविपरीत परिणाम आएपछि पार्टी १७ सिटमा सीमित हुँदै चौथो स्थानमा खुम्चिएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रारम्भिक समीक्षामा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखिएको जनलहर मुख्य कारण रहेको निष्कर्ष सुनाएका थिए। यद्यपि जित्ने सुनिश्चित मानिएका क्षेत्रमा समेत हार व्यहोर्नुपरेको विषयमा अझ गहिरो समीक्षा आवश्यक रहेको नेताहरूले बताएका छन्।
प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अब बस्ने सचिवालय बैठकमा पार्टी किन निरन्तर कमजोर बन्दै गइरहेको छ, अघिल्लो जनमत किन जोगाउन सकिएन, र अबको रणनीति कस्तो हुने भन्ने विषयमा निर्मम छलफल हुनेछ। साथै पार्टी पुनर्गठन, विचार संश्लेषण र संगठन सुदृढीकरणका विषय पनि प्राथमिकतामा रहनेछन्।
पार्टीले आगामी असारसम्म महाधिवेशन गर्ने तयारीसमेत अघि बढाएको छ। त्यसका लागि केन्द्रीय समिति बैठकमार्फत ठोस कार्ययोजना बनाउने संकेत गरिएको छ।
अघिल्ला निर्वाचनहरू हेर्दा माओवादी धारको जनमत क्रमशः खस्किँदै आएको देखिन्छ—२०६४ मा २२० सिट जितेको यो शक्ति २०७० मा ८०, २०७४ मा ५३, २०७९ मा ३२ हुँदै अहिले झन् घटेर न्यून अवस्थामा पुगेको छ। यसपटक प्रत्यक्ष र समानुपातिक दुवैमा कमजोर प्रदर्शन गर्दै पार्टीले ऐतिहासिक धक्का बेहोरेको छ, जसले आन्तरिक पुनर्विचार अपरिहार्य बनाएको छ।