१६ पुस, काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै सरकारले आवश्यक वातावरण निर्माणमा सक्रिय रूपमा काम गरिरहेको बताएका छन्। कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको उल्लेख गरे।
उनका अनुसार निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ भने समानुपातिकतर्फका उम्मेदवारको नामावली समेत बुझाइसकिएको छ। “अब चुनावी प्रक्रिया निष्कर्षतर्फ उन्मुख भएको छ,” मन्त्री अर्यालले भने।
सरकारको प्राथमिकता सत्ता जोगाइ रहने भन्दा पनि निर्धारित समयमै निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी सुम्पने रहेको उनले स्पष्ट पारे। जनआन्दोलनपछि सिर्जित असहज परिस्थितिलाई सामान्यीकरण गर्न र नागरिकलाई सुरक्षाको भरोसा दिन सरकार सफल भएको दाबीसमेत गरे।
उनले देश थप अस्थिर बन्न सक्ने जोखिमतर्फ संकेत गर्दै सुशासनका लागि नियमित निर्वाचन अपरिहार्य भएको बताए। “ताजा जनादेश प्राप्त सरकारले मात्र दृढ निर्णय लिएर मुलुकलाई सही दिशामा अघि बढाउन सक्छ,” मन्त्री अर्यालको भनाइ थियो।