२५ माघ, काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौँदेखि दोहोर्याउँदै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको स्रोत अन्ततः वेद भएको दाबी गरेका छन्। झापाको एक धार्मिक अनुष्ठानमा उनले उक्त नारा वैदिक मन्त्रबाट सापटी लिएको स्पष्ट पार्दै राजनीतिक नारा र धार्मिक मन्त्रबीचको दूरी झन् घटाएका हुन्।
देशमा महँगी, बेरोजगारी र अनिश्चितता चुलिँदै गएको बेला ओलीले ‘समृद्धि’को व्याख्या वेदसम्म पुर्याउनु आफैंमा अर्थपूर्ण देखिएको छ। व्यवहारमा समृद्धि नदेखिएपछि अब त्यसको खोज वैदिक मन्त्रमा गरिएको हो कि भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
‘सर्वे भवन्तु सुखिनः’ भन्ने मन्त्र उद्धृत गर्दै सबै सुखी हुने चाहना व्यक्त गरे पनि आम नेपालीको दैनिकी भने अझै ‘सर्वे सहनु परे दुःखिनः’कै अवस्थामा रहेको टिप्पणी हुन थालेको छ।
ओलीले नेपाली पूर्वजहरूलाई विश्वकै पहिलो सर्जन र सृष्टिकर्तासम्म घोषित गरेपछि आलोचकहरूले भने व्यंग्य गरेका छन्—देशमा आधुनिक अस्पतालको अभाव भइरहँदा इतिहासमै गर्व गरेर वर्तमानका घाउ टाल्न खोजिएको हो कि?
शान्ति, भयमुक्त समाज र सुखी नागरिकको चाहना वेदमा मात्र सीमित रहने कि व्यवहारमा पनि देखिने भन्ने प्रश्न भने यथावत् छ। नारा अब मन्त्र बनिसकेको छ, तर समृद्धि अझै ‘आश्वासन’मै सीमित देखिन्छ।