काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष तामाङलाई उक्त क्षेत्रमा उम्मेदवार बनाइएको हो।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावी अनुमति प्राप्त भएको भिडियो सार्वजनिक गर्दै तामाङले आफू झापा–५ बाट उम्मेदवार बनेको जानकारी दिएका हुन्।
तामाङका अनुसार आगामी फागुन २१ गतेका लागि संयोजक दाहालले शुभकामनासहित चुनावी अनुमति प्रदान गरेका छन्। उनले नेतृत्वप्रति आभार व्यक्त गर्दै झापा–५ का मतदातालाई चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न विशेष अपिल गरेका छन्।
उक्त क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्रसमेत हो। यसपटक पनि ओली सोही क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा चलिरहेको छ।