झापाबाट काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र, विमानस्थलमा समर्थकहरूको बाक्लो उपस्थिति

साझा लाल्टिन संवाददाता

फागुन १ ,काठमाडौं झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन्। विमानस्थलमा उनको स्वागतका लागि समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।

समर्थकहरूले विभिन्न नारा लगाउँदै विमानस्थल गेटसम्म उनलाई स्वागत गरेका थिए। शाहले गाडीमा बसेर हात हल्लाउँदै उपस्थित समर्थकप्रति आभार प्रकट गरेका थिए।

उनीलाई र्‍यालीसहित निर्मल निवास पुर्‍याउने तयारी गरिएको जनाइएको छ। यस क्रममा सम्भावित भीडलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

विमानस्थल आसपास स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने काठमाडौंका मुख्य चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शान्ति–सुरक्षा कायम राख्न विशेष सतर्कता अपनाइएको हो।

यसैबीच, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले विमानस्थलभित्रै पुगेर शाहको स्वागत गरेका थिए।

प्रतिक्रिया