काठमाडौं ४ भदौ - कर्टेल हिंसा नहुने मेक्सिकोको मध्य क्षेत्रस्थित सडक किनारमा ६ वटा काटिएका मानव टाउको फेला परेको छ। स्थानीय प्रशासनका अनुसार मंगलबार बिहानै पुएब्ला र ट्लाक्सकाला राज्यलाई जोड्ने मार्गमा ती टाउको भेटिएका हुन्। दुवै राज्यहरू प्रायः शान्त मानिँदै आएका क्षेत्र हुन्।
घटनास्थलमा ‘ला बार्रेदोरा’ नामले हस्ताक्षर गरिएको ब्लाङ्केटसहितको चेतावनी सन्देश पनि भेटिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो नाम पश्चिमी राज्य गेरेरोमा सक्रिय एक सानो आपराधिक समूहसँग मिल्छ, तर आक्रमण उनीहरूले नै गरेका हुन् वा होइनन् भन्ने स्पष्ट छैन।
ट्लाक्सकाला प्रोसिक्युटरको कार्यालयले फेला परेका टाउको पुरुषका भएको पुष्टि गरेको छ र घटनाबारे छानबिन सुरु गरिएको बताएको छ।
यो क्षेत्रमा लागुऔषध कारोबारसँगै इन्धन तस्करी (हुचिकोलिया) पनि ठूलो समस्या बनेको छ, जसबाट आपराधिक समूहहरूले वार्षिक अर्बौँ डलर कमाइ गर्ने गरेको बताइन्छ। सङ्घीय निकायहरूले भने अहिलेसम्म यस घटनाबारे कुनै टिप्पणी गरेका छैनन्। राष्ट्रपति क्लाउडिया शेनबामको प्रशासनले फेन्टानिल तस्करीविरुद्ध कडा अभियान चलाइरहेको बेला यो घटना भएको हो।
यसअघि, जुन महिनामा सिनालोआमा २० जनाको शव फेला परेको थियो, जसमा ४ जनाको टाउको काटिएको थियो। मे महिनामा मध्य राज्य ग्वानाजुआतोमा क्याथोलिक चर्चको उत्सवका बेला गोलाबारीमा ७ जना युवाको मृत्यु भएको थियो।
सन् २००६ यता मेक्सिकन सरकारले सैन्य अभियानमार्फत गिरोहविरुद्ध कारबाही सुरु गरेपछि देशमा कर्टेल हिंसा तीव्र रूपमा बढेको छ। अहिलेसम्म लाखौँ मानिस मारिएका र हजारौँ बेपत्ता भएका छन्।