०२ माघ , काठमाडौँ - गोरखामा पार्क गरेर राखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको निजी गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ। घटना भिमसेन थापा गाउँपालिका–३ स्थित चउर क्षेत्रमा गए राति भएको हो।
गाडी तोडफोड भएको जानकारी परियार स्वयंले प्रहरीलाई गराएका हुन्। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गाडीमा सवार व्यक्तिहरूलाई जबर्जस्ती ओरालेर आक्रमण गरिएको भने होइन। पार्किङमै राखिएको अवस्थामा गाडीको पछाडिको सिसा फुटाइएको पाइएको छ।
घटनाको समयमा गोरखामा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल प्रतियोगिता सञ्चालन भइरहेकाले भीडभाडको फाइदा उठाएर तोडफोड गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा कारण खुलाउने उद्देश्यले अनुसन्धान अगाडि बढाएको जनाएको छ।