रुकुम पूर्व-चीन सिमाना जोड्ने ‘शहीद मार्ग’ पिच गर्ने प्रचण्डको घोषणा

साझा लाल्टिन संवाददाता

४ फागुन,काठमाडौं - पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वलाई चीनको सीमासम्म कालोपत्रे सडकमार्फत जोड्ने दीर्घकालीन लक्ष्य अघि सारेका छन्। पुथा उत्तरगंगा गाउँपालिका-१ मैकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दाङबाट सुरु भएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै उत्तरी सीमासम्म विस्तार गरी स्तरोन्नति गर्ने योजना रहेको बताए।

उनका अनुसार उक्त सडक पूर्णरूपमा कालोपत्रे भएपछि मैकोटसहित आसपासका बस्तीहरूमा आवतजावत सहज हुनेछ र क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न टेवा पुग्नेछ।

प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएकाहरूको स्मृतिमा ‘शहीद मार्ग’को अवधारणा अघि सारिएको स्मरण गरे। जनयुद्धताका दक्षिणदेखि उत्तरसम्म जोड्ने मार्ग निर्माण गर्ने प्रस्ताव पार्टीले पारित गरेपछि स्थानीयवासीले स्वेच्छिक श्रमदानमार्फत सडक खन्न सुरु गरेको उनले बताए।

शान्ति प्रक्रियापछि आफू सरकारमा पुगेपछि उक्त मार्गलाई राज्यको योजनामा समेटिएको र अहिले सरकारी संरचनामार्फत निर्माण कार्य अघि बढिरहेको उनको भनाइ थियो। अब यसलाई स्तरोन्नति गरी कालोपत्रे गर्ने र पर्यटन प्रवर्द्धनसँग जोड्ने आफ्नो सपना रहेको उनले दोहोर्‍याए।

त्यस्तै, उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको अवधारणा ल्याएर बजेट विनियोजन गरेको पनि उल्लेख गरे।

प्रचण्ड नेतृत्वको टोली हाल तकसेरा, बिर्गुम, पिपलतुङ, खैरे (नयाँ बजार), डिम्मुर गहिरा (तातोपानी), मयाङ, हुकाम हुँदै मैकोट पुगेको छ। सोमबार टोली कोल, गोलखाडा, राङ्सी, नाखाँ र जामाबगर हुँदै सिस्ने गाउँपालिका–२ नायगाड पुग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया