मैले हारेँ, तपाईले जित्नुभयो” – इङ्नामको आक्रोशित बिदाइ

साझा लाल्टिन संवाददाता

०६ चैत,काठमाडौं शहरी विकासमन्त्री कुमार इङ्नामले नयाँ सरकार नआउँदै अचानक मन्त्रालय छोडेका छन्। हिजो साँझ उनले मन्त्रालयका उच्च कर्मचारी र विभागीय प्रमुखहरूलाई बोलाएर आफ्नो बिदाइको जानकारी दिएका थिए।

उक्त अवसरमा इङ्नामले आफूलाई असफल ठहराउँदै कर्मचारी नेतृत्वप्रति गहिरो असन्तुष्टि व्यक्त गरे। मंसिरको अन्तिम साता भूमि मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका उनले शहरी विकास मन्त्रालयमा देखिएका बेथिति र चुनौतीप्रति आक्रोश व्यक्त गर्दै भने, “मैले हारेँ, तपाईहरुले जित्नुभयो, अब खुशी मनाउनुस्, भोज खानुस्। तर तपाईले गरेको यो कूकर्मले जीवनमा एकदिन पीडा दिनेछ।”

इङ्नामले भूमि मन्त्रालयको तुलनामा शहरी विकास मन्त्रालयमा बढी बेथिति भएको उल्लेख गरे। साथै, उनले अर्थ मन्त्रालयको दादागिरीले आफ्नो योजनालाई पूर्णता दिन असहयोग गरेको आरोप पनि लगाए। “अर्थ मन्त्रालयको आफ्नै दादागिरी चल्दोरहेछ, जस्तो मनलाग्यो त्यही नियम बनाइदिन्छ। मैले पनि एउटा भिजन लिएर आएको  थिएँ, तर अर्थ मन्त्रालयको असहयोगले त्यसलाई पूरा गर्न सकिनँ,” उनले भने।

अन्ततः इङ्नामले आफूलाई इतिहासकै असफल मन्त्री घोषणा गर्दै बिदाइको लागि तयार पारिएको फूलमालासमेत नलिइकन मन्त्रालय छोडेका थिए।

प्रतिक्रिया