बेरोजगारी, भ्रष्टाचार र दमनले जन्माएको जेनजी विस्फोट : डा. बाबुराम भट्टराई

साझा लाल्टिन संवाददाता

९ पुस, काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा देखिएको जेनजी आन्दोलन आकस्मिक नभई गहिरा सामाजिक–आर्थिक समस्याबाट जन्मिएको स्वाभाविक प्रतिक्रिया भएको बताएका छन्। भारत भ्रमणका क्रममा भारतीय टेलिभिजन च्यानल एनडीटीभीसँगको अन्तर्वार्तामा उनले युवाहरू सडकमा उत्रनुका पछाडि तीन मुख्य कारण रहेको विश्लेषण प्रस्तुत गरेका हुन्।

डा. भट्टराईका अनुसार नेपालमा युवाहरू बेरोजगारी, कमजोर शैक्षिक प्रणाली र भविष्यप्रतिको अनिश्चितताबाट लामो समयदेखि असन्तुष्ट हुँदै आएका छन्। यही असन्तुष्टि जेनजी आन्दोलनको पहिलो आधार बनेको उनको भनाइ छ।

उनले सरकारी संयन्त्रभित्र मौलाएको भ्रष्टाचारलाई दोस्रो ठुलो कारणका रूपमा औंल्याए। राजनीतिक नेतृत्व र प्रशासनिक संरचनामा देखिएको जवाफदेहिताको अभावले युवाहरूको भरोसा टुट्दै गएको दाबी उनले गरे।

तेस्रो कारणका रूपमा उनले तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धलाई उल्लेख गरे। अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएपछि ठूलो संख्यामा युवा आक्रोशित भएर सडक संघर्षमा उत्रिएको भट्टराईको निष्कर्ष छ।

डा. भट्टराईले जेनजी प्रतिनिधि र सरकारबिच हालै भएको सहमतिलाई सकारात्मक कदमको रूपमा मूल्यांकन गरेका छन्। उम्मेदवार बन्नका लागि तोकिएको न्यूनतम उमेर सीमा २५ वर्षबाट घटाएर २१ वर्ष बनाउने सहमतिले युवाहरूलाई संसदीय राजनीतिमा प्रत्यक्ष सहभागिता जनाउन नयाँ ढोका खोलेको बताए।

पुराना राजनीतिक दलहरूबाट अब गहिरो सुधार सम्भव नभएको टिप्पणी गर्दै भट्टराईले वैकल्पिक राजनीतिक शक्तिहरूको उदयलाई समयको माग भएको बताए। आगामी निर्वाचनमा यस्ता वैकल्पिक शक्तिहरूबिच सहकार्य र गठबन्धनको सम्भावना पनि रहेको उनको भनाइ छ।

अन्त्यमा उनले नेपालमा अब नेतृत्वको केन्द्र युवा पुस्तामा सर्नुपर्ने स्पष्ट गर्दै युवाशक्तिलाई अघि बढाउन आफूहरू दृढ रहेको बताए। 

प्रतिक्रिया