सुम्निमा पारुहाङ प्रतिष्ठानमाथि अख्तियारको छानबिन, मेयर हर्क आक्रोशित

साझा लाल्टिन संवाददाता

१८ मंसिर, काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्कराज (हर्क) साम्पाङले अघि बढाएको ‘सुम्निमा पारुहाङ प्रतिष्ठान’ परियोजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। प्रतिष्ठानमा संकलित रकमको प्रयोग र व्यवस्थापन प्रक्रियामा अनियमितता भएको आशंकापछि अख्तियारले छानबिन अघि बढाएको हो।

गत कात्तिक १४ गते अख्तियारले प्रतिष्ठानलाई पत्र पठाउँदै दर्ता विवरण, विधान, पदाधिकारी, आर्थिक अभिलेख, आय–व्यय विवरण, बैंक खाताको स्टेटमेन्टदेखि जग्गा खरिद–बिक्रीसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

चन्दा संकलन गरेर सुम्निमा पारुहाङको प्रतिमा निर्माणको अभियान अघि बढाइरहेका मेयर साम्पाङ उजुरी दर्ता भएपछि आक्रोशित बनेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले, “राम्रो काम सहन नसक्नेहरूले फटाहा, चोर, गधाले जस्तै उजुरी हाले,” भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

साम्पाङले यसअघि पनि धरानमा फूल रोप्दा, बिरुवा रोप्दा वा ९८ दिनमा कोकाहाबाट पानी ल्याउँदा उजुरी परेको दाबी गरे। उनका अनुसार अख्तियारले सोधेको सबै प्रश्नका उत्तर आफैंले पठाइसकेका छन्।

“देश बिग्रनुमा कुहिएको मानसिकताका मान्छेहरूको भूमिका छ,” मेयर साम्पाङले भने, “हामीले गरेका सबै कामको हिसाबकिताब खुला छ, देखाइरहेका छौँ। विकास विरोधीहरूकै कारण आज देश पछाडि परेको हो।”

साम्पाङले आफ्नाविरुद्ध उजुरी गर्नेहरूलाई मतदाताले चुनावमा उपयुक्त जवाफ दिने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया