इनिसा विकको शव २७ दिनपछि परिवारले बुझ्ने, आजै अन्त्येष्टि गरिने

साझा लाल्टिन संवाददाता

१९ चैत,काठमाडौं सुर्खेतमा १६ वर्षीया इनिसा विकको हत्या प्रकरणमा २७ दिनपछि परिवारले उनको शव बुझ्ने निर्णय गरेको छ। बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

परिवारले सुरुमा न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएको थियो, जसका कारण उनको शव २७ दिनसम्म प्रदेश अस्पतालको शव गृहमा राखिएको थियो। तर जिल्ला अदालत सुर्खेतले घटनामा संलग्न चार नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएपछि परिवार आफ्नो अडानबाट पछि हटेको हो।

इनिसा गुर्भाकोट–६, बडाखोलीकी स्थायी बासिन्दा हुन्। उनी वीरेन्द्रनगर–१ मा बस्दै कक्षा ११ मा अध्ययनरत थिइन्। फागुन २३ गते बिहान ट्युसन जान घरबाट निस्किएकी उनी सोही दिन वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जंगलमा अचेत अवस्थामा फेला परेकी थिइन्। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानले बलात्कारपछि हत्या भएको देखाएको छ।

यस घटनाले देशभर ठूलो प्रतिक्रिया निम्त्याएको थियो। दोषीलाई कडा कारबाही गर्न माग गर्दै विभिन्न स्थानमा प्रदर्शनसमेत भएका थिए।

प्रतिक्रिया