८ फागुन,काठमाडौं - गगन थापाले राजधानीमा छठ पर्वलाई संस्थागत स्वरूप दिन आफूले पहल गरेको दाबी गरेका छन्। नेपाली कांग्रेसका सभापति थापाले सर्लाही–४ अन्तर्गत मधुबनीमा आयोजित कार्यक्रममा बोल्दैकाठमाडौं र मधेशबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्न निरन्तर काम गर्दै आएको बताए।
उनले केही समयअघि जनकपुरमा भएको सभालाई स्मरण गर्दै जानकी माताको भूमिमा उभिएर त्यहाँको परम्परा र संस्कृतिलाई आत्मसात गर्ने प्रतिज्ञा गरेको उल्लेख गरे। “कुनै भूगोलको प्रतिनिधित्व गर्ने हो भने त्यहाँको संस्कार र जीवनशैलीलाई पनि अंगाल्नुपर्छ,” उनले भने।
थापाका अनुसार, रामवरण यादवराष्ट्रपतिमा निर्वाचित भएपछि करिब दस वर्षअघि कमलपोखरीमा छठ पूजा सुरु गरिएको थियो। त्यसअघि राजधानीमा सीमित स्थानमा मात्रै छठ मनाइन्थ्यो र रानीपोखरीमा पूजा रोकिएको अवस्था थियो। आफूले नै कमलपोखरीमा पुनः छठ आरम्भ गराएको र त्यसयता निरन्तर रूपमा त्यहाँ पर्व मनाइँदै आएको उनले बताए।
उनले मधेश र राजधानीबीच दूरी घटाउने प्रयास अझै जारी रहेको उल्लेख गर्दै अब आफू निर्वाचित क्षेत्रका समस्या केवल उठाउने मात्र नभई समाधानसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे। “अब गुनासो राख्ने चरण सकियो, परिणाम देखाउने समय आएको छ,” उनले स्पष्ट पारे।