सजिला होइन, अप्ठेराहरूले दिएको गौरव सम्झिनुस् भूसालको प्रचण्डतर्फ अपील

साझा लाल्टिन संवाददाता

११ माघ, काठमाडौ - नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भूसालले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै राजनीतिक यात्राका गौरवपूर्ण क्षण नबिर्सन आग्रह गरेका छन्।

पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा नेकपाले हरिबोल गजुरेल र महेश्वर दाहालमाथि कारबाही गरेपछि भूसालले सामाजिक सञ्जालमार्फत प्रचण्डप्रति कटाक्षपूर्ण सन्देश दिएका हुन्। उनले ती दुवै नेता प्रचण्डका लागि कहिल्यै नबिर्सनुपर्ने पात्र भएको संकेत गरेका छन्।

भूसालले लेखेका छन्, “हरिबोल गजुरेल र महेश्वर दाहालले तपाईँको अनुशासन तोडे होलान्, त्यसको सट्टा अनुशासित र सजिला मानिसहरू भित्रिँदै होलान्। तर यदि तपाईँको जीवनमा गौरव गर्ने केही उपलब्धि छन् भने, ती यस्तै अप्ठ्यारा मान्छेहरूले बनाइदिएका हुन् भन्ने कुरा नबिर्सिनुस्।”

उनले शक्तिशाली नेताहरूले सजिलो र आज्ञाकारी मानिसहरू मात्र भित्र्याउने प्रवृत्ति अपनाउँदा आन्दोलनको आत्मा कमजोर हुँदै गएको आरोप पनि लगाएका छन्। “जुन दिनदेखि अप्ठेराहरूको ठाउँमा सजिला र अनुशासित मानिसहरू भर्ती गर्न थालियो, त्यही दिनदेखि तपाईँहरूको गौरवका गजुरहरू एक–एक गरी भत्किन थाले,” भूसालको भनाइ छ।

भूसालले अन्त्यमा प्रचण्डलाई आत्मसमिक्षा गर्न आग्रह गर्दै लेखेका छन्, “यदि अझै कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नुस्, अगाडि बाटो छैन।”

प्रतिक्रिया