२५ फागुन,काठमाडौं - धनुषा–१ बाट नेकपा उम्मेदवार मातृका यादवले मतगणना सकिएर आफू विजयी भएको दाबी गरे पनि निर्वाचन आयोगले प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएका छन्।
धनुषामा पत्रकारहरूसँग कुरा गर्दै यादवले निर्वाचन आयोग कसैको दबाबमा परेर निर्णयबाट पछि हटेको हुनसक्ने आशंका व्यक्त गरे। उनका अनुसार अदालतबाट कुनै प्रकारको स्थगन आदेश नआउँदासमेत आयोगले परिणाम घोषणा नगर्नु उचित नभएको बताए।
उक्त क्षेत्रमा किशोर साह (राष्ट्रिय स्वतन्त्र पार्टी) को उम्मेदवारी खारेज भएको थियो। उम्मेदवारी खारेज भए पनि रास्वपाले उल्लेख्य मत प्राप्त गरेको बताइएको छ। तर यादवले साहको उम्मेदवारी खारेज भइसकेको अवस्थामा आफू नै विजयी हुने दाबी गरेका छन्।
यादवले बन्दसूचीका अन्य २१ जनाको उम्मेदवारीसमेत खारेज भएको उल्लेख गर्दै आयोगले आफ्नो निर्णयमा अडान लिनुपर्ने बताए। “कानुनी प्रक्रियाबिना दबाबमा आएर परिणाम रोक्नु ठीक होइन,” उनले भने।
उनले मतगणनाको सम्पूर्ण प्रक्रिया रेकर्डमा राखेर पनि परिणाम सार्वजनिक नगर्नु आयोगको ‘बदमासी’ भएको टिप्पणी गरे। यस विषयमा पार्टी नेतृत्वलाई जानकारी गराइसकेको र आवश्यक परे आफैँ निर्वाचन आयोगमा गएर स्पष्टता माग्ने उनले बताए।
यादवले रास्वपाबाट दबाब आएको हुनसक्ने आशंका व्यक्त गर्दै संवैधानिक र स्वायत्त निकायले कुनै राजनीतिक प्रभावमा नपर्नुपर्ने धारणा राखे।