वैशाख १५,काठमाडौँ - नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको पहिलो बैठकले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा १९ बुँदे प्रस्ताव पारित गरेको छ।
बैठकले सैद्धान्तिक रूपमा सामन्तवादका अवशेष अन्त्य गर्दै दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादविरुद्ध संघर्षलाई सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ। समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने संकल्पसहित पार्टीले संगठनात्मक पुनर्गठन र वाम एकता आवश्यक रहेको निष्कर्ष निकालेको छ।
बैठकले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचित सबै प्रतिनिधिलाई बधाई दिएको छ।
सरकारप्रति मिश्रित दृष्टिकोण राख्दै पार्टीले राम्रा कामको समर्थन र कमजोरीको आलोचना गर्ने नीति दोहोर्याएको छ। विशेषगरी महँगी, कालोबजारी, पेट्रोलियम मूल्यवृद्धि र दैनिक उपभोग्य वस्तुमा भएको अस्वाभाविक मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।
सुकुम्बासी बस्ती हटाउने कार्यबारे पनि बैठकले कडा आपत्ति जनाउँदै वैकल्पिक आवास व्यवस्था बिना गरिएको हटाउने कार्यले असहाय नागरिकमा संकट सिर्जना भएको उल्लेख गरेको छ।
त्यस्तै, सुशासनका नाममा भइरहेको कारबाही प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने माग गरिएको छ। मानवअधिकार, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि लगाइएका प्रतिबन्धप्रति पनि आपत्ति जनाइएको छ।
बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय राजनीतिक विषयमा समेत धारणा राख्दै मध्यपूर्व र इरान–अमेरिका–इजरायल तनावप्रति शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ।
साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति प्रक्रिया पूरा गर्ने, बेपत्ता नागरिक सम्बन्धी काम तीव्र गर्ने तथा सामाजिक न्याय सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ।
पार्टीले अन्त्यमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्दै वाम आन्दोलनको पुनर्गठनमार्फत समाजवाद उन्मुख नेपालको लक्ष्यमा एकताबद्ध भएर अघि बढ्ने आह्वान गरेको छ।
यस्तो छ, १९ बुँदे प्रस्ताव

