लोकतन्त्रको बाँकी यात्रा अब ‘१०० मिटरको दौड’को गति चाहिन्छ : मनिष झा

साझा लाल्टिन संवाददाता

१२ चैत,काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद मनिष झाले नेपालको लोकतन्त्रको बाँकी यात्रा अब म्याराथनको गतिमा होइन, ‘१०० मिटरको दौड’ जस्तो तीव्र गतिमा पूरा गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा शपथ ग्रहणका लागि पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आगामी कार्यकाल चुनौतीपूर्ण र निर्णायक हुने बताए। उनले देशको राजनीति र अर्थतन्त्रलाई गति दिनुपर्ने आवश्यकता औँल्याउँदै विश्वको बदलिँदो राजनीतिक र आर्थिक परिवेशमा नेपालले आफ्नो गतिलाई तीव्र बनाउनुको विकल्प नरहेको स्पष्ट पारे।

६६ वर्षको लोकतान्त्रिक इतिहासलाई स्मरण गर्दै झाले भने, “हाम्रो ६६ वर्षको लोकतान्त्रिक यात्रालाई अब यो कार्यकालले अर्को दुई–तीन दशकको स्पीडमा लैजानुपर्छ। म्याराथनको गति पर्याप्त छैन, हामी १०० मिटरको स्पीडमा दौडेर बाँकी यात्रा तय गर्नुपर्ने अवस्थामा छौँ।”

उनले मतदाताबाट प्राप्त विश्वास र जिम्मेवारीलाई गम्भीरतापूर्वक निभाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको आशालाई निराशामा नबदल्ने बताए। चुनावमा मतदाताले आफ्नो मन र मत दुवै दिएर पार्टीलाई समर्थन गरेको स्मरण गर्दै उनले यसले आफूहरूलाई थप जिम्मेवार बनाएको महसुस गरेको बताए।

प्रतिक्रिया