वीरगञ्जको अवैध गोदाममा छापा, सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

साझा लाल्टिन संवाददाता

२७ माघ, काठमाडौं - वीरगञ्जमा अवैध रूपमा सञ्चालन हुँदै आएको गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझदेखि रातिसम्म आक्रमणमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको हो।

वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार आदर्शनगरस्थित एक अवैध गोदाममा छापा मारेको थियो। छापाका क्रममा स्थानीय व्यापारी समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो।

पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सिसी क्यामेरा फुटेजका आधारमा आक्रमणकारीको पहिचान गरी पक्राउ गरिएको जानकारी दिए। आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी तथा विस्तृत अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।

संयुक्त टोलीले भन्सार छली गरी ल्याइएका सामान गोदाममा राखिएको सूचनाका आधारमा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा छापा मारेको थियो। सो क्रममा करिब १२ लाख ५० हजार रुपैयाँ बराबरका कपडाजन्य सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया