निर्वाचनका दिन पनि हवाई उडान नियमित, आन्तरिक–अन्तर्राष्ट्रिय सेवा नरोकिने

साझा लाल्टिन संवाददाता

१४ फागुन,काठमाडौं - २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका दिन हवाई सेवा बन्द नहुने भएको छ। निर्वाचनको दिन पनि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित तालिकाअनुसार सञ्चालन गर्न बाटो खुला गरिएको हो।

निर्वाचन आयोगले मतदान र सुरक्षा व्यवस्थालाई असर नपर्ने गरी उडान सञ्चालन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ। आयोगको निर्णयअनुसार यात्रुले आफ्नो टिकटको आधारमा यात्रा गर्न पाउनेछन् भने विमानस्थल आवतजावतका लागि निजी सवारी वा सम्बन्धित एयरलाइन्सले व्यवस्था गरेको यातायात प्रयोग गर्न सकिनेछ।

यसअघि नेपालमा निर्वाचनको दिन आन्तरिक उडान बन्द गर्ने चलन थियो। सोही प्रचलनलाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले यसपालि पनि ट्राभल एडभाइजरी जारी गरेको थियो। तर आयोगको पछिल्लो निर्णयसँगै निर्वाचन र हवाई सेवा सँगसँगै सञ्चालन हुने अवस्था बनेको छ।

आयोगको यो कदमले पर्यटन, व्यवसायिक गतिविधि र अत्यावश्यक यात्रामा सहजता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया