१४ चैत,काठमाडौं - नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर अन्य दलसँग समन्वय र प्रतिवादका लागि नेताहरूलाई विशेष जिम्मेवारी तोकेको छ ।
शनिबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले राजनीतिक दलहरूसँग संवादको समन्वय उपाध्यक्ष विष्णु पौडेललाई सुम्पिएको छ । यस्तै, संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल र साझा रणनीति निर्माणको जिम्मेवारी अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ ।
बैठकले कानुनी प्रतिवादको सम्पूर्ण संयोजन उपाध्यक्ष गोकर्ण विष्टलाई जिम्मा दिएको छ । महासचिव शंकर पोखरेलका अनुसार संसदभित्र र बाहिर रहेका दलहरूसँग संवाद गर्दै सामूहिक प्रतिवादको योजना अघि बढाइनेछ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कारबाही सिफारिस भएसँगै प्रहरीले शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो । त्यसलगत्तै एमालेले च्यासलमा आकस्मिक सचिवालय बैठक बोलाएको हो ।
बैठकपछि महासचिव पोखरेलले अध्यक्ष ओलीको पक्राउलाई “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी कदम” को संज्ञा दिएका छन् ।
यससँगै एमालेले जेनजी आन्दोलनसम्बन्धी घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।