१२ फागुन,काठमाडौं - रञ्जु दर्शना आमा बनेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रहेकी उनले आज बिहान छोरा सन्तान जन्माएकी हुन्।
गर्भावस्थाकै अवस्थामासमेत सक्रिय चुनावी अभियानमा रहेकी दर्शनालाई चिकित्सकले फागुन दोस्रो साताका लागि प्रसूती मिति दिएका थिए। स्वास्थ्यमा असहजता देखिएपछि उनी आज बिहान नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा भर्ना भएकी थिइन्, जहाँ उनले पहिलो सन्तानका रूपमा पुत्रलाभ गरिन्।
दर्शनाको अनुपस्थितिमा पनि उनको चुनावी अभियान रोकिएको छैन। उनको सचिवालय र वडा कमिटीले घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्। यद्यपि, गर्भावस्थाकै समयमा समेत उनी केही स्थानमा स्वयं उपस्थित भई मतदातासँग भेटघाट गर्दै आएकी थिइन्।
काठमाडौँ–१ मा उनको प्रतिस्पर्धा कडा देखिएको छ। उक्त क्षेत्रमा प्रबल थापा (नेपाली कांग्रेस), मोहनराज रेग्मी (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) र रविन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी) लगायत डेढ दर्जन उम्मेदवार चुनावी मैदानमा छन्।