मे दिवसमा ट्रेड युनियन अधिकार जोगाउन सरकारलाई चेतावनी

साझा लाल्टिन संवाददाता

काठमाडौं, १ मे २०२६ - अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस)को अवसरमा पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमल कुमार खनालले श्रमिक अधिकारको संरक्षण र प्रवर्द्धनमा जोड दिँदै सरकारलाई ट्रेड युनियन अधिकार कुण्ठित नगर्न चेतावनी दिएका छन्।

उनले मे दिवसको अवसरमा जारी शुभकामना वक्तव्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्दै मे दिवस श्रमिकहरूको “एकता, वीरता र संघर्ष” को प्रतीक भएको उल्लेख गरेका छन्।

वक्तव्यमा सन् १८८६ मा अमेरिकाको शिकागोमा सुरु भएको ८ घण्टा कामको आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै मजदुरहरूको बलिदानबाट प्राप्त उपलब्धिको सम्मानस्वरूप सन् १८९० देखि विश्वभर मे दिवस मनाउन थालिएको जनाइएको छ।

अध्यक्ष खनालले आजसम्म पनि श्रम क्षेत्रमा शोषण कायम रहेको उल्लेख गर्दै पूँजीवादी व्यवस्थाले श्रमिकहरूलाई न्यून पारिश्रमिक, अस्थायी तथा करारमा काम गराउने र सामाजिक सुरक्षाबाट वञ्चित गर्ने प्रवृत्ति जारी रहेको बताए।

नेपालको वर्तमान राजनीतिक सन्दर्भ उल्लेख गर्दै उनले हालै गठन भएको सरकारको १०० बुँदे प्रतिबद्धतामा ट्रेड युनियन खारेज गर्ने विषय समावेश गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले ट्रेड युनियन अधिकारलाई श्रमिकहरूको मौलिक अधिकारको रूपमा व्याख्या गर्दै यस अन्तर्गत संगठन बनाउन, सदस्यता लिन, सामूहिक सौदाबाजी गर्न तथा आवश्यक परे हड्ताल गर्न पाउने अधिकार समेटिएको बताए।

नेपाल अन्तर्राष्ट्रिय श्रम संगठन को सदस्य राष्ट्र भएको र यसका अभिसन्धि नं ८७, ९८, १५१ र १५४ अनुमोदन गरिसकेको सन्दर्भ उल्लेख गर्दै उनले संविधानको धारा ३४ ले समेत ट्रेड युनियन अधिकार सुनिश्चित गरेको बताए।

खनालले सरकारबाट ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने वा अधिकार सीमित गर्ने प्रयास भएमा त्यसलाई लोकतन्त्र विरोधी कदम मानिने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विरोध हुने चेतावनी दिएका छन्। उनले यस्तो निर्णयले सरकारकै स्थायित्वमा असर पार्न सक्ने दाबी गरे।

साथै, उनले शिक्षक, विद्यालय कर्मचारी, सरकारी कर्मचारी तथा अस्थायी र करारमा कार्यरत श्रमिकहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

अन्त्यमा, उनले मे दिवसको अवसरमा श्रमिकहरूको हकहित सुनिश्चित गर्न सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। 


प्रतिक्रिया