काठमाडौं - नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणलाई लिएर सरकारमाथि कडा व्यंग्य प्रहार गरेका छन्। मन्त्रीहरूको नाममा देखिएको सुन, नगद, सवारीसाधन, सेयर तथा जग्गाजमिनको विवरण सार्वजनिक भएपछि उनले देशको अवस्था “लंका” बनेको टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्। पछिल्ला दिनमा सार्वजनिक भएका केही मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेख्य सुन तथा अचल सम्पत्ति देखिएपछि राजनीतिक वृत्तमा व्यापक चर्चा चलिरहेको छ।
बास्कोटाले व्यंग्यात्मक शैलीमा लेखेका छन् - “डाँडाभरि लालीगुराँस फुल्ने बेला मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ।” सुनको विवरणलाई लक्षित गर्दै गरिएको यो टिप्पणीले सामाजिक सञ्जालमा थप बहस सिर्जना गरेको छ। उनले यसलाई समृद्धि र सुशासनको नयाँ संकेतजस्तै प्रस्तुत गर्दै, “समृद्धि आएछ, सुशासन त्यहीँबाट आरम्भ हुन्छ” भन्ने तिखो व्यंग्य समेत गरेका छन्।
त्यससँगै बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुरानो फेसबुक स्टाटसतर्फ पनि संकेत गरेका छन्। विगतमा चर्चित बनेको “जहाँ कंगाल, त्यहीँ चण्डाल” भन्ने अभिव्यक्तिलाई उल्टाउँदै उनले अहिलेको दृश्यले त्यो भनाइ नै गलत सावित भएको जिकिर गरेका छन्। उनले लेखेका छन्, “म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ– झिक्कै झिक्कै माया तिम्लाई!”
दिनभर मिडिया र सामाजिक सञ्जालमा मन्त्रीहरूको सम्पत्ति विवरण चर्चाको केन्द्रमा भाइरल बनेको छ।
