नेपाली कांग्रेस को १५औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु

साझा लाल्टिन संवाददाता

२१ चैत,काठमाडौं नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनको प्रक्रिया आज (शनिबार) बाट औपचारिक रूपमा सुरु गर्ने भएको छ। केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना गर्ने कार्यतालिका तय गरिएको छ।

यसअघिको बैठक (चैत १०–११) ले सदस्यता वितरण र अद्यावधिकदेखि लिएर महाधिवेशनसम्मका सम्पूर्ण तयारी चरणहरू निर्धारण गरेको थियो। सोही तालिकाअनुसार चैत २१ गतेदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइनेछ भने देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिहरू परिचालन गरिने योजना छ।

आज दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा ती प्रतिनिधिहरूलाई ‘ओरिएन्टेसन’ प्रदान गरिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। उक्त कार्यक्रमपछि प्रतिनिधिहरूको नाम सार्वजनिक गरिने पनि उनले बताएका छन्। साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटाइने व्यवस्था गरिएको छ।

बैशाख १ गतेदेखि महिनाभर देशभरका वडास्तरमा क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान सञ्चालन गरिनेछ। यस अभियानपछि वडाहरूले जेठ १५ भित्र सदस्यता विवरण सम्बन्धित क्षेत्र र जिल्लामा पठाउनुपर्नेछ भने जिल्लाहरूले जेठ २५ भित्र सबै विवरण केन्द्रमा बुझाइसक्नु पर्नेछ।

केन्द्रले असार १५ भित्र सदस्यताको अन्तिम टुंगो लगाउनेछ र असार मसान्तसम्म अद्यावधिक सदस्यहरूको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने कार्यतालिका रहेको छ।

प्रतिक्रिया