एकै दिन १३८ बुलेट ग्यास आयात, उपभोक्तालाई ढुक्क रहन आग्रह

साझा लाल्टिन संवाददाता

१३ फागुन,काठमाडौं - आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात दर उल्लेख्य रूपमा बढाएको छ। निर्वाचन अवधिमा बजारमा कुनै प्रकारको अभाव नहोस् भन्ने उद्देश्यसहित निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट उच्च परिमाणमा ग्यास लोड गरिरहेको जनाएको छ।

निगमका अनुसार मंगलबार मात्र १३८ बुलेट ग्यास लोड गरिएको छ, जुन चालु वर्षकै सबैभन्दा ठूलो दैनिक आपूर्ति हो। यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबर हुने बताइएको छ।

कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार निर्वाचनको समयभरि आपूर्ति प्रणाली नियमित राखिनेछ र उपभोक्ताले आत्तिनु पर्ने अवस्था छैन। बजारमा कृत्रिम अभाव हुन नदिन भण्डारण, ढुवानी र वितरण संयन्त्रलाई अझ प्रभावकारी बनाइएको निगमले स्पष्ट पारेको छ।

प्रतिक्रिया