प्रजातन्त्र दिवसमा भण्डारीले नागरिक सचेतनाको महत्व र शान्तिपूर्ण निर्वाचनमा जोड दिइन्

साझा लाल्टिन संवाददाता

 फागुन,काठमाडौं - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रप्रति प्रतिबद्धता अझ सुदृढ बनाउन आह्वान गरेकी छिन्। उनले प्रजातन्त्र दिवसले मुलुकलाई स्थायित्व, सुशासन र समृद्धितर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन्।

शुभकामना सन्देशमार्फत भण्डारीले निरंकुश शासन अन्त्यका लागि नेपाली जनताले गरेको ऐतिहासिक आन्दोलन र बलिदानको स्मरण गर्दै जनताको एकता र संघर्षकै परिणामस्वरूप लोकतन्त्र स्थापना भएको उल्लेख गरिन्। उनले लोकतन्त्रलाई केवल शासन प्रणालीको रूपमा सीमित नगरी व्यवहार, संस्कार र जीवनशैलीको रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिइन्।

संविधानले सुनिश्चित गरेका अधिकार र कर्तव्यबीच सन्तुलन कायम गर्दै लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउनु आजको प्रमुख आवश्यकता भएको उनको भनाइ छ। लोकतन्त्रको संरक्षण र सुदृढीकरणका लागि नागरिक सचेत र जिम्मेवार हुनुपर्ने उनले बताइन्।

साथै, वर्तमान राजनीतिक परिवेशतर्फ संकेत गर्दै उनले आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गर्न सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखिन्। लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतार्दै निर्वाचनलाई सफल बनाउनु सम्पूर्ण नागरिकको साझा कर्तव्य भएको उनले स्पष्ट पारिन्।

प्रतिक्रिया