प्रचण्डद्वारा माघी तथा मकर संक्रान्तिको शुभकामना, ‘विविधताभित्र एकताले नै राष्ट्र बलियो बन्छ’

साझा लाल्टिन संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघी तथा मकर संक्रान्तिको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

थारु समुदायको मुख्य पर्व माघी तथा समस्त हिन्दू, मगर, छन्त्याललगायत विभिन्न समुदायले हर्षोल्लासका साथ मनाउने माघे संक्रान्ति नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान भएको उनले बताएका छन्। विविधताभित्रको एकता, आपसी सम्मान, भाइचारा र सामाजिक सद्भाव नै यस्ता पर्वहरूको मूल सन्देश भएको प्रचण्डको भनाइ छ।

शुभकामना सन्देशमा उनले उत्तरायणको सुरुवातसँगै दिन लम्बिँदै र रात छोटिँदै जाने प्रतीकले देशको जीवनमा पनि अन्धकार हटेर उज्यालो, प्रगति र समृद्धिको नयाँ युग सुरु हुने अपेक्षा व्यक्त गरेका छन्।

आज तराईदेखि पहाड र हिमालसम्मका नेपालीहरूले परिवारसँगै बसेर खिचडी, घिउ, चाकु र विभिन्न परिकार साटासाट गर्दै चाड मनाइरहेको उल्लेख गर्दै उनले यसले नेपाली समाजको आत्मीयता, एकता र सामूहिकता झन् बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रचण्डले यस पर्वले सबैलाई अझ बढी मेहनत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न प्रेरित गर्ने उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय एकता, शान्ति, सुशासन र समृद्ध नेपाल निर्माणका लागि सबैलाई मिलेर अघि बढ्न आह्वान गरेका छन्।


प्रतिक्रिया