६ फागुन,काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी र गरिबहरूको पक्षमा पार्टीको विशेष ध्यान रहेको बताएका छन्। दमकमा तीन पाङ्ग्रे सवारी चालकहरूसँगको भेटमा उनले स्पष्ट पारे, “कोही भोकै हुनुहुँदैन, कोही पनि भोकै मर्दैन।”
अध्यक्ष ओलीले भने, “सुकुम्वासी, गरिबहरूको सम्बन्धमा हाम्रो पार्टीले सबैभन्दा बढी ध्यान दिन्छ। हाम्रो नीति यही हो। हामीले झन्डै झन्डै भोकमरीको स्थिति अन्त्य गरेका छौँ र गरिबी अन्त्य गर्न निरन्तर प्रयास गरिरहेका छौँ।”
उनले स्वास्थ्य क्षेत्रमा पनि ठूलो सुधार भएको दावी गरे। उनले स्वास्थ्य बिमा प्रणालीमा परिवर्तन गरी ३५ सय रुपैयाँमा १ लाखसम्मको उपचार उपलब्ध गराउने व्यवस्था आफूले बनाएको बताए।
विकासका क्षेत्रमा पनि उनले आफूले झापाको विकासमा तीव्रता दिएको जानकारी दिए। “विकास सकिएको छैन , अझै बाँकी छ। म प्रधानमन्त्री हुनुअघि धेरै कठिनाइ भोगेको थिएँ। मुख्य बाटाहरू पक्की भएका छन्, अब त्यसमा अन्य कनेक्शन जोडिन बाँकी छ। दमक ठुलो नगरपालिका हो, यसको विकासका लागि हामी सधैँ लाग्ने छौँ,” उनले भने।