०८ चैत,काठमाडौं - भारत–नेपाल सीमामा तस्करीको स्वरूप फेरिँदै गएको एक नयाँ घटना सार्वजनिक भएको छ । परम्परागत रूपमा सुनचाँदी वा महँगा सामानको सट्टा यसपटक ठूलो परिमाणमा फर्सीको बियाँ भारततर्फ लैजाँदै गर्दा भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएको हो ।
सशस्त्र सीमा बल (SSB) को ७१औँ बटालियन, मोतिहारीले गोप्य सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनमा करिब ३६ लाख भारतीय रुपैयाँ बराबरको बियाँ बरामद भएको बताइएको छ । घटनामा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
प्राप्त जानकारी अनुसार बाराका विभिन्न नाकाबाट मोटरसाइकल मार्फत बियाँ भारततर्फ लगिँदै थियो । ती सबै बियाँ घोडासहन क्षेत्रअन्तर्गत बसवरिया गाउँमा संकलन गरेर यूपी ४२ ईटी ७८६२ नम्बरको ट्रकमार्फत दिल्ली पठाउने योजना बनाइएको थियो ।
राजस्व गुप्तचर निर्देशनालय (DRI) मुजफ्फर पुरसँगको समन्वयमा एसएसबीले घोडासहन–ढाका सडकखण्डमा विशेष निगरानी राखेको थियो । सोही क्रममा बुधबार राति लक्ष्मीपुर लौखन नजिक शंकास्पद ट्रक रोकेर जाँच गर्दा चालक र सहचालकलाई नियन्त्रणमा लिइएको हो ।
प्रारम्भिक सोधपुछमै उक्त बियाँ दिल्ली लैजान लागिएको खुलेको छ । ट्रकमा करिब ३०० बोरा बियाँ भेटिएको छ, जसको कुल तौल ११ हजार ५५० किलो रहेको छ । भारतीय बजार मूल्यअनुसार प्रति किलो ३२० रुपैयाँका दरले यसको मूल्य करिब ३६ लाख ९६ हजार भारतीय रुपैयाँ आँकलन गरिएको छ ।
पक्राउ पर्नेहरूमा उत्तर प्रदेशका मोहम्मद हसिब ( वर्ष - ३५) र मोहम्मद सलमान (वर्ष - ३१) रहेका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको भारतीय अधिकारीहरूले जनाएका छन् ।