६ फागुन,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन्। उनले आज महामन्त्रीसमक्ष राजीनामा बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले आफ्नो राजीनामा पत्रमा पार्टी छाड्नुका सात कारण उल्लेख गरेका छन्। उनका अनुसार उम्मेदवार छनोट प्रक्रियामा अत्यधिक आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तारमा असन्तुलन देखिएको तथा सदस्यता र आर्थिक व्यवस्थापनमा पारदर्शिताको अभाव रहेको छ।
उम्मेदवार चयनबारे असन्तुष्टि जनाउँदै उनले पार्टीमा लामो समयदेखि सक्रिय र समर्पित कार्यकर्ताहरूलाई पाखा लगाएर अन्य दलबाट हालै आएका व्यक्तिलाई प्राथमिकता दिइएको आरोप लगाए। उनले केही व्यक्तिहरूलाई अनुभव र योगदानभन्दा व्यक्तिगत नजिकियत, चाकडी र स्वार्थका आधारमा अघि बढाइएको टिप्पणी गरेका छन्।
सुरुमा “जान्नेलाई अवसर” दिने प्रतिबद्धता जनाए पनि व्यवहारमा सीमित समूह वरिपरि घुम्ने व्यक्तिहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ प्राथमिकता दिइएको उनको भनाइ छ। यस्तो प्रवृत्तिले संसद नै अवसरवादी र विकृत संरचनातर्फ धकेलिने खतरा रहेको उनले औंल्याएका छन्।
अघिल्लो निर्वाचनमा हुमागाईँले काभ्रे–२ बाट १० हजार ५७३ मत प्राप्त गरेका थिए। पछिल्लो समय रास्वपामा उम्मेदवार छनोट र आर्थिक पारदर्शितामाथि प्रश्न उठाउँदै पार्टी त्याग्ने नेताहरूको संख्या बढ्दै गएको देखिन्छ।
यसैबीच, हिजो मात्र रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी परित्याग गरेका थिए।