१३ पुस, काठमाडौं - चुनावको मिति घोषणा भएसँगै श्रम संस्कृति पार्टी खोलेर चुनावी मैदानमा होमिएका धरानका मेयर हर्क साम्पाङले आफूजस्तै ‘नयाँ र वैकल्पिक’ भनिएका दलका नेतामाथि आक्रोश पोख्न थालेका छन्।
फेसबुक स्टाटसलाई हतियार बनाउँदै साम्पाङले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङदेखि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्मलाई एउटै लाइनमा उभ्याएर ‘विदेशीका दलाल’ को ट्याग लगाइरहेका छन्।
अचम्म के छ भने, वर्षौंदेखि सत्ता र व्यवस्थामा जरा गाडेर बसेका कांग्रेस, एमाले र नेकपाभन्दा साम्पाङको निशाना पछिल्लो समय नयाँ दल र उदाउँदा नेतातर्फ बढी केन्द्रित देखिन्छ। आफूलाई विकल्पको प्रतिनिधि भन्नेहरूलाई नै उनले “विदेशीको इसारामा चल्ने समूह” भनेर सार्वजनिक रूपमा लाञ्छित गरिरहेका छन्।
रवि लामिछाने र मेयर बालेनबीच भएको ७ बुँदे सहमतिलाई समेत साम्पाङले विदेशी हस्तक्षेपको उपज भन्दै उडाए। सामाजिक सञ्जालमा उनले लेखे,
‘फटाहाहरू… सिंहदरबार जलाउने र जेन–जीको हत्या गर्नेहरूले विदेशीको इसारामा देश चलाउने रे!’
त्यत्तिमै नरोकिने साम्पाङले प्रधानमन्त्री बन्ने चर्चा चलाइएका नेतामाथि व्यंग्य प्रहार गर्दै लेखे,
‘हा.. हा.. जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ!’
साम्पाङको आरोप अझै गम्भीर छ । उनका अनुसार केही नेताहरूलाई ‘मिडिया ट्रायल’ मार्फत जबर्जस्ती प्रधानमन्त्रीको रूपमा उभ्याउने प्रयास भइरहेको छ। चुनाव नजिकिँदै जाँदा हर्क साम्पाङको आक्रमक शैलीले नयाँ शक्तिहरूबीचको टकराव झन् चर्किँदै गएको संकेत गर्छ।