हेटौँडामा दुई युवाको ज्यान लिने ट्रक वीरगन्जमा फेला, चालक फरार

साझा लाल्टिन संवाददाता

१३ फागुन,काठमाडौं - मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर मा मोटरसाइकललाई ठक्कर दिई फरार भएको मालवाहक ट्रक पर्साको वीरगन्जमा फेला परेको छ।

बुधबार बिहान ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई अज्ञात सवारीले ठक्कर दिँदा दुई युवाको ज्यान गएको थियो। दुर्घटनामा राक्सिराङ गाउँपालिका–१, मकवानपुरका २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो।

प्रहरी अनुसन्धानका क्रममा मोटरसाइकललाई ठक्कर दिने सवारी ग.२ ख ८९८ नम्बरको मालवाहक ट्रक रहेको खुलेको हो। उक्त ट्रक वीरगन्ज महानगरपालिका–१३ स्थित प्रतिमाचोकको एक ग्यारेजमा मर्मतका लागि पाटपुर्जा खोल्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

पर्साका एसपी नरेश सुवेदीका अनुसार दुर्घटनामा ठोक्किएको भाग मर्मत गर्न खोज्दै गर्दा ट्रक नियन्त्रणमा लिइएको हो। चालक भने ट्रक ‘भोला बडी बिल्डर्स’ नामक ग्यारेजमा छाडेर फरार भएका छन्।

घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरिरहेको छ।

प्रतिक्रिया