सप्तरीमा सात वर्षीया बालिका अपहरण प्रकरण : फिरौती लिन आएका युवक पक्राउ

साझा लाल्टिन संवाददाता

 फागुन,काठमाडौं - सप्तरीमा सात वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कल्याणपुरको संयुक्त टोलीले खडक नगरपालिका–९, सर्पा निवासी ३० वर्षीय इम्तियाज अहमदलाई नियन्त्रणमा लिएको हो।

गत फागुन ५ गते साँझ करिब ७ बजे खडक नगरपालिका–९ स्थित डेराबाट इमरान खानकी सात वर्षीया छोरी नेहा खातुन (आसु) लाई नम्बर प्लेट नदेखिने मोटरसाइकलमा आएका व्यक्तिले अपहरण गरेका थिए। घटनापछि बालिकाका बुबा इमरानले प्रहरीमा जाहेरी दिएका थिए र प्रहरीले खोजी तीव्र पारेको थियो।

खोजी अभियानकै क्रममा इमरानलाई अपरिचित नम्बरबाट फोन गरी एक करोड रुपैयाँ नगद र पाँच किलो सुन फिरौती मागिएको प्रहरीले जनाएको छ। अपहरणकारीले उक्त रकम र सुन वडा नम्बर १ स्थित खाँडो खोलामा ल्याउन निर्देशन दिएका थिए।

प्रहरीले योजनाबद्ध रूपमा सादा पोशाकमा टोली परिचालन गरी निगरानी बढाएको थियो। फागुन ७ गते फिरौती लिन पुगेका इम्तियाजलाई घटनास्थलबाटै पक्राउ गरिएको हो।

पक्राउ परेका अहमदमाथि सप्तरी जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया