रास्वपा सानो आकारको मन्त्रिपरिषद बनाउने तयारीमा

साझा लाल्टिन संवाददाता

०६ चैत,काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनतर्फ तीव्र तयारीमा जुटेको छ। पार्टीभित्र सानो आकारको मन्त्रिपरिषद बनाउने रणनीति अनुसार करिब १८ सदस्यीय क्याबिनेट बनाउने विषयमा गृहकार्य अघि बढाइएको नेताहरूले बताएका छन्।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कम खर्चिलो र प्रभावकारी सरकार बनाउने लक्ष्यसहित मन्त्रालयहरू घटाउने, गाभ्ने वा मन्त्रीहरूलाई दोहोरो जिम्मेवारी दिने विकल्पमा छलफल भइरहेको छ। यद्यपि मन्त्रालयको संख्या र मन्त्रीहरूको नाम टुंगो लाग्न भने बाँकी छ।

यसैबीच, रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने कार्यतालिका बनाइएको छ, जहाँ सँगै मन्त्रीहरूले पनि शपथ लिने योजना रहेको जनाइएको छ।

दलभित्र बालेनलाई संसदीय दलको नेता चयन गर्न विधान संशोधन आवश्यक नपर्ने निष्कर्ष निकालिएको छ। पार्टीले राजनीतिक सहमति मार्फत नै उनलाई प्रधानमन्त्री बनाउने बाटो तय गरिसकेको दाबी गरिएको छ।

स्मरणीय छ, रास्वपा र काठमाडौंका तत्कालीन मेयर पक्षबीच पुस १३ गते भएको एकताका बेला नै बालेनलाई भावी प्रधानमन्त्री बनाउने सहमति भएको थियो।

अब चैत १२ गते सांसदहरूको शपथपछि संसदीय दलको बैठक बस्ने तयारी छ। उक्त बैठकमा मुख्यतः अन्य आन्तरिक विषयमा छलफल हुने बताइएको छ, भने दलको नेता चयनको प्रक्रिया छुट्टै ढंगले अघि बढाइने संकेत गरिएको छ।

प्रतिक्रिया