२८ फागुन,काठमाडौं - सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाबारे थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। घटनाको गम्भीरता ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले सीआईबीसँग सहयोग मागेपछि विशेषज्ञ टोली वीरेन्द्रनगर पुगेको हो।
प्रहरी निरीक्षकको नेतृत्वमा रहेको सीआईबीको टोली सुर्खेत आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोनजंग बुढथापाले जानकारी दिए। उनका अनुसार जिल्लाबाट प्रारम्भिक अनुसन्धान सम्पन्न भइसकेकाले अब घटनाको विस्तृत विश्लेषणका लागि केन्द्रीय टोली खटाइएको हो।
घटनासम्बन्धी पोस्टमार्टम रिपोर्ट प्राप्त भइसके पनि अन्य महत्वपूर्ण परीक्षणहरूको प्रतिवेदन आउन बाँकी रहेको प्रहरीले जनाएको छ। पीडित र शंकास्पद व्यक्तिहरूको मोबाइल लगायतका विद्युतीय सामग्रीहरू केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधिरराज शाहीका अनुसार टकसिकोजिकल तथा बायोसेरोलोजिकल परीक्षणको रिपोर्ट आएपछि पोस्टमार्टम प्रतिवेदनसँग तुलना गरी घटनाको अन्तिम निष्कर्षमा पुगिनेछ। अनुसन्धानमा सहयोग पुर्याउन कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट आएको टोलीले पोलिग्राफ परीक्षणसमेत गरिरहेको उनले बताए।
प्रहरीले कल डिटेल्स, विद्युतीय प्रमाण तथा घटनास्थलबाट संकलित अन्य सामग्रीको पनि विश्लेषण गरिरहेको जनाएको छ।
पोस्टमार्टम प्रतिवेदन अनुसार जबरजस्ती करणीका क्रममा मृतकको संवेदनशील अंग च्यातिँदा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको उल्लेख छ।
गुर्भाकोट–६ बडाखोली स्थायी घर भएकी इनिसा विकको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो। घटनापछि आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।
यस प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। डीएसपी बुढथापाका अनुसार पक्राउ परेका सबै १८ वर्षमुनिका किशोर हुन्। घटनाको दिन नै एक १६ वर्षीय किशोर पक्राउ परेको थियो भने भोलिपल्ट थप तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
हालसम्म पीडित परिवारले शव बुझेका छैनन्।