३० पुस, काठमाडौं - देउवा पक्षबाट कारबाहीमा परेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा समूहविरुद्ध खुला विद्रोह घोषणा गर्दै कडा आक्रमण गरेका छन्।
भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा गर्जँदै थापाले देउवा पक्षले छलफलको नाटक गरेर कांग्रेस कार्यकर्तालाई भ्रममा पार्दै निर्वाचन आयोगमा गुपचुप पत्र पठाएको आरोप लगाए।
हामीलाई अल्मल्याएर, देशभरका लाखौँ कांग्रेसजनलाई धोका दिइएको छ, थापाको आक्रोश थियो।
देउवा समूहलाई सीधै प्रश्न गर्दै उनले भने कति दिनसम्म कांग्रेस कार्यकर्तालाई मूर्ख बनाउने ? पार्टी कब्जा गरेर चलाउने ठेक्का कसैले लिएको छैन।
थापाले यो लडाइँ केवल पदको नभई कांग्रेस बचाउने अभियान भएको घोषणा गर्दै भने,
यो विशेष महाधिवेशनले जे निर्णय गर्छ, निर्वाचन आयोगले त्यसैलाई मान्छ। कांग्रेस यही छ, यही रहन्छ देउवाको निजी दरबार होइन।
कारबाहीप्रति कडा प्रतिवाद गर्दै थापाले आफ्ना राजनीतिक संघर्ष स्मरण गराउँदै भने
म ९ कक्षामा पढ्दा कांग्रेस बनेको हुँ। २०४६ को आन्दोलनमा सडकमा थिएँ, २०६२/६३ को जनआन्दोलनको नेतृत्व गरेँ। कसैले कारबाही गर्यो भन्दैमा म कांग्रेस छोड्दिनँ।
अन्त्यमा उनले कांग्रेस कसैको निजी कम्पनी नभएको दोहोर्याउँदै चेतावनी दिए
कांग्रेस कार्यकर्ता जागिसकेका छन्। अब भ्रम, षड्यन्त्र र पत्राचारले होइन, जनताले पार्टीको भविष्य तय गर्नेछन्।